काठमाडौं - नेपाल स्टक एक्सचेन्ज नेप्सेले मार्जिन कारोबार योग्य सूचिकृत कम्पनीहरूको सूचि सार्वजनिक गरेको छ । ८७ कम्पनी मार्जिन कारोबार योग्य कम्पनीहरू सार्वजनिक सूचिमा परेका छन् ।
नेप्सेले २०७५ यता दोस्रो पटक उक्त सूचि सार्वजनिक गरेको हो। यस अघि नेप्सेले २०७५ मै पहिलो पटक सूचि सार्वजनिक गरेको थियो ।
त्यस यता भने मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ संशोधनको क्रममा रहेका कारण उक्त सूचि सार्वजनिक नगरिएको नेप्सेको भनाई छ ।
पछिल्लो समय नासा सेक्युरुटिजले मार्जिन ट्रेडिङको धमाकेदार स्किम सार्वजनिक गरेपछि नेप्सेले सूचि सार्वजनिक गरेको हो । उता कम्पनीले स्किम सार्वजनिक गर्नु तर यता नेप्सेले सूचि नै सार्वजनिक नगर्नुले सेवा नै अवरोध हुने स्थिति आएपछि नेप्सेले फटा फट सूचि सार्वजनिक गरेको हो ।
सूचि सार्वजनिक नभएको विषयमा मेरो लगानीले “मार्जिन ट्रेडिङको स्किममा चासो बढ्दै, नेप्सेले ऋण दिने कम्पनीको लिस्ट नबनाउँदा समस्या, सेवा लिने र दिने दुवै मर्कामा” शीर्षकमा समाचार लेखेको थियो ।
सोही समाचार पछि नेप्सेलाई उक्त सूचि छिटो सार्वजनिक गर्नै पर्ने थप दबाब परेको थियो ।
प्रतिक्रिया