काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।
समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ५८.१५ प्रतिशत घटेर २ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका आम्दानी घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.८३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४१.०७ प्रतिशत घटेको छ ।
त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १९.९१ प्रतिशत र सञ्चालन मुनाफा ५८ प्रतिशत घटेको छ । नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३९ रुपैयाँ ७६ पैसा घटेर १९ रुपैयाँ ३६ पैसामा झरेको छ ।
असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६०.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ २२ पैसा रहेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ५.११ प्रतिशत बढेको छ ।
त्यसैगरी, लघुवित्तको निक्षेप ३.२८ प्रतिशत र कर्जा १.९० प्रतिशत बढेको छ ।
प्रतिक्रिया