लगानीकर्ताको मनोबल उठाइ लगानी र प्रतिफल सुरक्षित गरिने छ : विष्णु पौडेल

३ बर्ष अगाडि

काठमाडौं - पूर्व अर्थमन्त्री, नेकपा एमाले उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले लगानीकर्ताको मनोबल उठाइने र लगानी कर्ताको लगानी तथा प्रतिफल सुरक्षित गरिने प्रतिवद्धता जनाएका छन् । 

रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका उनले आइतबार बुटवलमा घोषणपत्र सार्वजनिक गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् । उनी अर्थमन्त्री हुँदा नेप्सले अहिलेसम्मकै नयाँ उचाई चुमेको थियो ।

‘पुँजी बजारको विकास र विस्तारमा विशेष ध्यान दिइने छ । पुँजी बजारका समस्या समाधान गरी लगानी कर्ताको मनोबल उठाइने छ र लगानी कर्ताको लगानी तथा प्रतिफल सुरक्षित गरिने छ,’ उनले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख गरेका छन् ।

पौडेलले रुपन्देही–२ लाई मात्र नभई जिल्लालाई नै विकासको रोलमोडेल बनाउने घोषणा गरेका छन् । उनको घोषणापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने उल्लेख छ । 

यस्तै सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजना कार्यान्वयन, तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।

यस्तै बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोड्ने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वे लगायतका पूर्वाधार निर्माण गरिने उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया