राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सालिक अनावरण गरिदै, को हुन् फाल्गुनन्द ?

३ बर्ष अगाडि

ताप्लेजुङ - राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक अनावरण गरिने भएको छ । आज किरात धर्म दर्शन दाता महान समाज सुधारक १३८औं जन्म जयन्ती मूल समारोह समितिले पत्रकार महासंघ ताप्लेजुङ शाखाको सभाहलमा पत्रकार सम्मेलन गर्दै उक्त अनावरण कार्यक्रम फुङलिङ ताप्लेजुङमा गरिने जानकारी गराएको हो ।

महागुरु फाल्गुनन्दले फुङलिङमा पटक पटक पदापर्ण गरेकाले उनको सालिक अनावरण उनको १३८औं जन्म जयन्तीको अवसरमा फुङलिङमा नै गर्ने कार्यक्रम तय गरिएको समारोह समितिले जनाएको छ । सालिक अनावरण सँगै किरात हाङसाम माङहिम समुद्घाटन साथै माङसावा भवन अवलोकनको कार्यक्रम पनि रहेको समितिले जनाएको छ । 

समारोहको लागि सम्पूर्ण तयारी सकिएको जानकारी गराउँदै कार्तिक २१ गते काङवामा यङधङ काबेलीमा साक्मुरा वादेम्मा गालीश्राप बगाउने तथा सावा येत्कोक्मा सावायेत्तरक सेवा पूजाको कार्यक्रम तय गरिएको समितिले जनाएको छ । 

कार्तिक २२ गत भने किरात हाङसाम माङहिममा विश्वशान्ति मानव एकता सकल प्राणी रक्षार्थको निमित येत् नाम्धुङ् सावायेत्हाङ सेमिसेवाको आयोजना गरिएको छ । 

यस्तै कार्तिक २३ र २४ गते बिहान ८ बजे सम्म नाम्धुङ् लाधुङ् सेमिसेवा साथै दिनमा मूल समारोहको कार्यक्रम तय गरिएको छ भने मूल समारोह कार्यक्रम भने कार्तिक २५ गतेको दिनलाई तय गरिएको समितिले जनाएको छ ।

 को हुन् अङ्सिमाङ् फाल्गुनन्द लिङ्देन ?
फाल्गुनन्दको जम्मा वि.सं. १९४२ साल कार्तिक २५ गते आतबारका दिन माङसेबुङ् गाउँपालिका २ ईलाम (साविक ईलाम जिल्लाको इभाङ गा.वि.स. चुक्चिनाम्बा)मा भएको हो । उनको नाम फाल्गुनन्द सँगै नरधोज र फलामसिं पनि हो । उनले ८ वर्षको उमेरमा साविक जितपुर ८ खत्रक्या खोल्सी, माइखोला किनारमा ज्ञान प्राप्त गरेका थिए । 

उनी सादा जीवनशैलीका जिए । ब्रह्मचारी, युमा र नारीको भेष भुषा साथै गहनामा सजिने गथ्र्ये । उनी माशु मंसदेखि टाढा थिए । कम बोल्नुका साथै घुमफिर धेरै गथ्र्ये । 

उनले गरेका कार्यहरु
उनले धेरै कार्यहरु गरेका छन् । थुमका किरातहरुलाई बोलाई वृहत चुम्लुङ गरी तत्कालीन समाजका विकृतिहरुलाई हटाउनलाई सत्यधर्म मुचुल्का खडा गरेका थिए । सेन्छेई फक्ताङलुङ (कुम्भकर्ण हिमशृङखला)लाई किरात धर्मावलम्बीहरूको तीर्थभूमि र मुक्ति भूमिको रुपमा पहिचान गराएका थिए । 

छरपस्टिएको एवं लोपोन्मुख साम्जिक मुन्धुमलाई संहिताकरण गरी पुन: लेखन गरेका थिए । लोपोन्मुख अवस्थामा भएको किरात लिपिलाई प्रचार प्रसार गरेका थिए । देश तथा विदेशमा माङ्हिमहरुको स्थापना गरेका थिए । विभिन्न स्थानमा पहिरो रोक्ने, पानी उमार्ने, खडेरी भएको ठाउँमा पानी पार्ने जस्ता विभिन्न चामत्कारिक अलौकिक कार्यहरू गरेका थिए । 

उपनाम
उनका धेरै उपनामहरु रहेका छन् । उलाई ध्यानी, तपस्वी, सत्यहाङमा, महागुरु, मुहिङगुम अङसिमाङ जस्ता उपनामले चिन्न सकिन्छ । 

सरकारबाट सम्मान
उनलाई नेपाल सरकारले पनि विषेश सम्मान दिएको छ । वि. सं. २०५० सालमा महागुरु फाल्गुनन्दको नामा रु. १५ रुपैयाँको हुलाक टिकट स्थापना भयो । माध्यमिक तहको नेपाली किताबको पाठ्यक्रमा मा महागुरु फाल्गुनन्दको संक्षिप्त जीवनी समावेश गरिएको छ । 

दमकदेखि माङ्सेबुङ हुँदै चिसोपानी पञ्चमी रवि जोड्ने सडकलाई फाल्गुनन्द मार्ग नामाकरण गरिएको छ । वि. सं. २०६६ साल मंसिर १६ गते महागुरु फाल्गुनन्दलाई १६औं राष्ट्रिय भिभुतिको घोषणा गरिएको हो । 

सम्मानमा संस्थागत र व्यक्तिगत पहल
दमक, माङ्सेबुङ, लोब्रे, इवा, बेलडाँगी, रवि, शान्तिनगर आठराई, तुम्बेवा, यासोक, अर्जुनधारा, शोभाहिटी ललितपुर, मुक्कुम्लुङ, टाँडी मोरङ लगायतका विभिन्न स्थलहरुमा सालिक स्थापना गरिएको छ । यस्तै उनको नाममा दर्जनौं संघसंस्थाहरु, शैक्षिक संस्था, वित्तीय संस्थाहरु लगायतका कयौं माङ्हिम र क्लबहरु सञ्चालनमा आएका छन् ।

सम्मानका विषेश कार्यक्रमहरु
उनको सम्झनामा समाजसुधार दिवस बैशाख २४ गते, जन्मजयन्ती कार्तिक २५ गते, स्मृति दिवस चैत्र २२ गते मनाइदै आइरहेको छ । 

अलङकार, आभूषण विशेषण
उनलाई छरपस्टिएको अनि लोपोन्मुख किरात धर्मदर्शनलाई पुनर्जीवन प्रदान गरेका कारण किरात कर्म दर्शनका पुनरुत्थानकर्ताको रुपमा चिन्ने गरिन्छ । तत्कालीन समाजमा व्याप्त कुरीति, कुसंस्कार, विकृतिलाई हटाउन सत्य धर्म मुचुल्का खा गरी त्यसलाई पालन गर्न पहल गरेकाले महान समाज सुधारकको रुपमा चिनिन्छ । 

जीवनभर सत्य अहिंसा, शन्ति र मानव एकताको सन्देश छर्दै सिङगो मानव समाजलाई मार्गदर्शन गरेका कारण नेपाल सकारले राष्ट्रिय विभूति घोषणा गरेको हो । किरात धार्मिक इतिहासमा विभिन्न देव अवतार महापुरुषको जन्म भइरहने निरन्तरता अनुरुप उनी अवतारित भएकाले उलनलाई मुन्धुमी भाषामा मुहिङ्गुम अङसि भनिएको हो । 

उनको देहत्याग वि.सं. २००५ साल चैत्र २२ गते सोमबारका दिन हाङयक, पान्थरमा भएको थियो । उनको सत्गत सिलौटी पान्थरमा गरिएको हो । 

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया