चुनावमा २३ समूहका गतिविधि निगरानीमा

३ बर्ष अगाडि

काठमाडौं - गृह मन्त्रालयले चुनावी सुरक्षा चुनौतीका रुपमा बिभिन्न समूहका गतिविधि रहेको बताएको छ । सोही अनुसार मुख्यत चुनावमा भाग नलिएका २३ समूहका गतिविधि निगरानीमा रहेको बताइएको छ । 

गृह मन्त्रालयका अनुसार मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय छन् । उनीहरुका गतिविधि नै मुख्य चुनावी सुरक्षा चूनौतीका रुपमा रहेको गृह मन्त्रालयको निष्कर्ष छ । 

विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका गृहमन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले निर्वाचनको सबै तयारी पूरा भइसकेको, तर बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय रहेको बताएका छन् । २३ समूह मध्ये कुनै समूहमा ५–७ जना मात्रै त कुनै समूहमा धेरै संख्या रहेको उनले बताएका छन् । 

मुख्यतः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका राजनीतिक दलले आगामी मंसिर ४ मा हुन गइरहेको आम निर्वाचनमा भाग नलिने बताएका हुन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने जानकारी दिएका हुन् ।  

निर्वाचनले समाजवादमा पुग्न मद्दत नगर्ने भएकाले त्यसलाई भण्डाफोर गर्दै बिथोल्ने गरी अभियान चलाउने निर्णय उनीहरुको छ । उक्त भण्डाफोर अभियानमा सरकारले दमन गरे त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिइएको छ । यस अभियानमा सामना परिवारले जनसांस्कृतिक अभियान समेत चलाउने भनिएको छ । 

अघिल्लो संसदीय निर्वाचनमा पनि निर्वाचन बिथोल्ने भन्दै राजनीतिक दलका नेता र कार्यकर्तालाई लक्षित गर्दै बम विस्फोटसम्मका घटना भएको कारण विप्लव लगायतका साना कम्युनिस्ट पार्टीको निर्वाचन बिथोल्ने घोषणापछि निर्वाचन आयोग र सुरक्षा निकायले सुरक्षाको नयाँ योजना बनाउन थालेका हुन् । 

निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न भनिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको गृह मन्त्रालयले बताएको छ ।

मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध मिलाइएको छ । पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ । निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन हुनेछन् । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया