कोरोना बीमाको दाबी भुक्तानी प्रकृया अन्तिम चरणमा

३ बर्ष अगाडि

काठमाडौं - कोरोना बीमाको दाबी भुक्तानी प्रकृया अन्तिम चरणमा पुगेको छ । अर्थ मन्त्रालयले दाबी भुक्तानीको लागि एक अर्ब रुपैयाँ निकास गरेपछि बीमा समितिले दाबी भुक्तानी प्रकृया अन्तिम चरणमा पुर्याएको हो ।

अर्थ मन्त्रालयले पठाएको एक अर्ब र त्यसमा बीमा समिति, बीमा कम्पनीहरु र नेपाल पुनर्बीमा कम्पनीले ८१ करोड रुपैयाँ थपेर कुल एक अर्ब ८१ करोड रुपैयाँ बराबरको भुक्तानी गर्ने भएको छ ।

दाबी भुक्तानी बाँकी रहेको रकम मध्ये ५५ प्रतिशत सरकारले व्योहोर्ने र ४५ प्रतिशत बीमा कम्पनी, नेपाल पुनर्बीमा र बीमा समितिले भुक्तानी गर्ने मोडालिटी बनेको छ । त्यस अनुसार सरकारले पठाएको १ अर्ब रुपैयाँको ४५ प्रतिशत अर्थात ८१ करोड रुपैयाँ भुक्तानीको लागि थप्न लागेको हो ।

बीमा समितिले तयार पारेको मोडालिटी अनुसार दाबी भुक्तानी गर्न अर्थ मन्त्रालयबाट स्वीकृती पाएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी गराए । भुक्तानी गर्न लागिएको एक अर्ब ८१ करोड रुपैयाँ एक लाख दरका भुक्तानी गर्दा १८ हजार १०० जना बीमितले मात्रै पाउने देखिन्छ ।

कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था थियो । त्यस भन्दा बढी दाबी परेमा सम्पुर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख थियो ।

मापदण्ड अनुसार अनुसार सरकारलाई भार पर्ने भन्दै दाबी भुक्तानी बाँकी रहेको रकम मध्ये ५५ प्रतिशत सरकारले व्योहोर्ने र ४५ प्रतिशत बीमा कम्पनी, नेपाल पुनर्बीमा र बीमा समितिले भुक्तानी गर्ने मोडालिटी बनेको छ ।

मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट गरी कुल ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यस मध्ये ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भइसकेको छ । कुल दाबी रकम मध्ये ७६.५९ प्रतिशत अर्थात ११ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ सरकारले भुक्तानी गर्नुपर्ने देखिन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया