काठमाडौं - त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ) बापतको बाँकी रकम बुझाउने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान गरेको थियो । माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीले एक सूचना प्रकाशित गर्दै बाँकी रकम बुझाउन सेयरधनीहरुलाई आग्रह गरेको थियो ।
यो आईपीओको बाँकी रकम आज बैंकिङ समयसम्म बुझाउन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कार्यविधिअनुसार रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले वार्षिक ८ प्रतिशत ब्याज दिनुपर्ने प्रावधान रहेकोले सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ रुपैयाँमात्र जम्मा गरे पुग्नेछ ।
सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट समेत रकम बुझाउन वा आवेदन दिन सक्नेछन् ।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ मा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता ९कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत० सेयर जारी गरी प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँमात्र संकलन गरेको थियो ।
जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ अनुसार सेयरबापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयरबापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका १ लाख ५४ हजार ५५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउन बाँकी छ । कम्पनीले सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गर्नेछ ।
हिजो कात्तिक १६ गते साँझ साढे ५ बजेसम्म कम्पनीले १ लाख १ हजार १८७ आवेदकबाट २४ लाख ५८ हजार २७७ कित्ताबापत २१ करोड ३८ लाख ७० हजार ९९ रुपैयाँ प्राप्त भएको क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया