प्रतिशेयर आम्दानी घटेको जानकी फाइनान्सले तीन महिनामा कति कामायो नाफा ?

३ बर्ष अगाडि

काठमाडौं - जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा फाइनान्सले २४ लाख १९ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार फाइनान्सको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.३४ प्रतिशत कम हो । 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले २ करोड ७९ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेका कारण फाइनान्सको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २४.६२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ४३.४५ प्रतिशत घटेको छ । फाइनान्सको इम्पेरमेन्ट चार्ज ३ करोड ९८ लाख रुपैयाँ पुगेको छ । जसकारण सञ्चालन मुनाफा ८९.९३ प्रतिशत घटेको छ ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी १७ रुपैयाँ २२ पैसा घटेर १ रुपैयाँ ४० पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात २५३.८९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८० पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पूँजी १५ प्रतिशत बढेको छ भने जगेडा कोष ३७.९७ प्रतिशत घटेको छ । फाइनान्सको निक्षेप १.६६ प्रतिशत बढेको छ भने कर्जा २.५० प्रतिशत घटेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया