काठमाडौँ, १९ माघ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । तर निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छैन |
निगमले डिजेल र मटीतेल प्रतिलिटर २-२ रूपैयाँ, पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर पाँच रूपैयाँ र बाह्यमा प्रतिकिलोलिटर एक सय डलर गरिएकोे प्रवक्ता वीरेन्द गोइतले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र निगमलाई इन्धन उपलब्ध गराउने भारतीय आयल कर्पोरेसनबाट पनि मूल्य बढेर आएकाले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।
मूल्य समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रूपैयाँ पुगेको छ भने डिजेल-मटीतेल प्रतिलिटर ८३ रूपैयाँ पुगेको छ । यस्तै, हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर ९५ रूपैयाँ पुगेको छ । खाना पकाउने ग्यासमा भने निगमलाई अझै प्रतिसिलिन्डर २ सय २ रूपैयाँ घाटा छ । मूल्य समायोजनपश्चात निगमलाई डिजेलमा प्रतिलिटरमा ३ रूपैयाँ ३७ पैसा घाटा छ । पेट्रोलमा भने प्रतिलिटर २ रूपैयाँ नाफा छ ।
प्रतिक्रिया