स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले चुनाव लड्न पाउने बाटो खुल्यो

३ बर्ष अगाडि

काठमाडौं - सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनले चुनाव लड्न बाटो खुलेको छ । 

न्यायाधीश कुमार चुडालको इजलासले यस्तो आदेश दिएको प्रवक्ता विमल पौडेलले जानकारी दिए । ‘प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपुरणीय क्षतिको स्थिति तथा सुविधाको सन्तुलन समेतको रोहबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगो नलागेसम्म कार्कीको ललितपुर ३ को उम्मेदवारी अयोग्य हुने गरी आयोगले कात्तिक १२ मा गरेको निर्णय कार्यान्वयन नगर्नूर नगराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ । 

कार्कीले लिने भत्ता नियमित प्रकृतिको नभएको सर्वोच्चको आदेशमा उल्लेख छ । ‘लाभको पदमा बहाल रहेको भन्न निजले मेडिकल काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद भएको वा नियमित जिम्मेवारीको पद भन्ने देखिन आउँदैन,’ आदेशमा भनिएको छ, ‘कुनै काउन्सिल वा संगठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्च जस्ता आर्थिक लाभ नियमित प्रकृतिका नहुने अवस्थाको देखिन आउँछ।’

सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया