नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया रोक्ने सेबोनको निर्णय

३ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र नयाँ कमोडिटी मार्केटको लाइसेन्सन दिन अगाडि बढाएको प्रक्रिया हाललाई यथास्थितिमै राख्ने निर्णय गरेको छ । 

सेबोनले आज एक सूचना जारी गर्दै हाललाई आवेदन दिनेलगायत थप कामकारबाही बोर्डबाट अर्को निर्णय नहुँदासम्मका लागि यथास्थितिमा राख्ने निर्णय भएको जानकारी गराएको हो । 

सर्वोच्च अदालतबाट नयाँ लाइसेन्स वितरणको प्रक्रिया तत्काल रोक्न अल्पकालीन आन्तरिम आदेश जारी भएसँगै आवेदन लिनेलगायतका थप कामकारबाही अर्को निर्णय नहुँदासम्म रोक्ने निर्णय सेबोनले गरेको छ । 

सेबोनले गत असोज २ गतेबाट ३० दिनको म्याद राखेर नयाँ ब्रोकर लाइसेन्स तथा ४५ दिनको म्याद राखेर नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि लाइसेन्स लिन आवेदन खुला गरेको थियो ।

सेबोनमा अन्तिम दिनसम्म नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले आवेदन दिएका छन् । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि आवेदन दिने म्याद भने आज कात्तिक १५ गतेसम्म थियो । 

अधिवक्ता दीपकविक्रम मिश्रले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र कमोडिटी मार्केट सञ्चालनको लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले तत्काल लाइसेन्स बाँड्ने प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो । 

सर्वोच्चले विपक्षीविरुद्ध कारण देखाउ आदेश र अन्तरिम आदेशमा छलफलका लागि कात्तिक २२ गते उपस्थित हुन आदेश पनि जारी गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया