काठमाडौं - नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरूद्ध जबर्जस्ती करिणी कसुरमा सोमबार मुद्दा दर्ता गरेको हो ।
सोमबार मुद्दा दर्ता भए पनि मंगलबारमात्रै थप प्रक्रिया अघि बढाइने छ । मुद्दामा बयानका लागि पेशी चढाउन भोलि गोलाप्रथा हुने त्यसपछि थुनछेकका लागि बयान र बहसको प्रक्रिया अघि बढ्ने छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार चाड सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन । प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने व्यवस्थाको उपदफा ३ को ‘घ’ अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।
पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबी समेत गरिएको छ । प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ । तर लामिछानेले अभियोग अस्वीकार गर्दै आएका छन् ।
प्रतिक्रिया