काठमाडौं - गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सले ३ करोड ८४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.०३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको खुद नाफा र ईपीएस दुबै घटेको छ । खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेको र खुद फि तथा कमिशन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ५.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३८.३३ प्रतिशत घटेको छ । इम्पेरमेन्ट चार्ज १ करोड ७३ लाख रुपैयाँबाट बढेर ४ करोड ७० लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा ४४.३६ प्रतिशत घटेको छ । जसका कारण खुद नाफा घट्न पुगेको हो ।
नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस १३ रुपैयाँ ८५ पैसा घटेर १६ रुपैयाँ २४ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात २७.४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ८३ पैसा रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ३६.१७ प्रतिशत घटेको छ। फाइनान्सको निक्षेप र कर्जा भने सो अवधिमा क्रमशः ३.०४ प्रतिशत र २.३८ प्रतिशत बढेको छ ।
प्रतिक्रिया