काठमाडौं - बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरेको कारबाहीबाट रु १८ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ ।
गत साउन, भदौ र असोज महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गरेका दुई हजार आठ सय ५० चालकबाट सो राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताए ।
कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । उक्त अवधिमा नौ सय ७९ मोटरसाइकलबाट रु ६ लाख ३९ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । तीन सय ८५ कार र जीपबाट रु तीन लाख ८८ हजार, तीन सय ४९ ट्रक तथा टिपरबाट रु दुई लाख ४० हजार, चार सय ९३ ट्र्याक्टरबाट रु तीन लाख ४२ हजार, चार सय १९ बसबाट रु दुई लाख ७४ हजार पाँच सय र अन्य २२ सवारीसाधनबाट १३ हजार गरी रु १८ लाख ९७ हजार राजस्व सङ्कलन भएको हो ।
पछिल्लो तीन महिनाको राजस्व अघिल्लो वर्षको तीन महिनाको तुलनामा झन्डै रु आठ लाखभन्दा बढी हो । ट्राफिक प्रहरी प्रमुख केसीले आफूहरुले बागलुङ बजारमा ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोे बताए ।
भन्सार प्रहरीको ज्यादतीको आरोप
भन्सारबाट लिएको प्रवेश प्रमाणपत्र च्यातेर बारा प्रहरीले ज्यादती गर्ने गरेका आरोप लगाइएको छ । जाँचका नाउँमा प्रहरी युनिट अगाडि नै बाटो जाम गरी ठाउँठाउँमा दैनिक जाँचको नाउँमा सवारीसाधनलाई रोकेर प्रहरीले दुःख दिने गरेको पीडितहरुको गुनासो छ ।
जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी पोष्टहरुले अहिले दैनिक जाँच गर्ने गरेका तथा लामो समयसम्म सवारी साधन रोकेर रकम असुल्ने गरेको पीडितहरुले आरोप लगाएका छन् । भारतबाट मटिअर्वा छोटी भन्सारबाट नेपाल आएका बिआर ०५–एई–८५५९ नंको मोटरसाइकलधनीलाई तेलकुअवा प्रहरी चौकीले जाँच गर्दा भन्सारको ‘इन्ट्री’ कागजात च्यातेर फालेको भारत विहार राज्यका डुबहा पञ्चायत दारपा थाना बगही गाउँ निवासी सुबोध कुमार सरार्फले बताए ।
उक्त कागज किन च्यातेको भनी सोध्दा तिमीलाई पनि थुनामा राख्ने जवाफ दिएपछि आफू निराश भएको र जाँचमा खटेका तेलकुअवा प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई जिल्लामा पठाएको उनले भने ।
आफूले कुनै कागज नच्यातेको तर मोटरसाइकलको कागज नभएका कारण जिल्लामा पठाएको त्यहाँका प्रहरी सहायक निरीक्षक रामबहादुर यादवले जानकारी दिए ।
कागजपत्र ठीक भए पनि जाँचमा खटेका प्रहरीले रकम असुली कार्यमा लागेको जिल्ला पूर्वीचम्पारण आदापुर औरैया निवासी नैमुदिन आलमको पनि गुनसो थियो । आफूले प्रहरीले बोलेअनुसारको जवाफ दिएकाले बलतल्ल प्रहरीले छोडेको उनको भनाइ थियो ।
यसैगरी जाँचका क्रममा खटेका प्रहरीले दुई दिनअघि मात्र कागजपत्र ठीक भएपछि बिहानको यात्राका लागि बोहनी गराई दिनुस् भनी अनुरोध आएपछि रु ३० दिनु परेको महागढीमाई नगरपालिका–४ का दिनेश तिवारीले बताए ।
प्रतिक्रिया