काठमाडौं - आगामी ४ मंसिरका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । संघीय निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गर्ने ठूला दलमा काँग्रेस पहिलो भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने जनाइएको छ । दलहरूले निर्वाचन घोषणापत्र बिना नै मत माग्न शुरु गरिसकेका छन् ।
‘निरन्तरतमा नवीनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई घोषणापत्रमा प्राथमिकतामा राखिएको काँग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले जानकारी दिए । शर्मा घोषणा पत्र तयारी समितिको संयोजक हुन् ।
तीन खण्डमा तयार पारिएको घोषणा पत्र तिहारअघि नै सार्वजनिक गर्ने भनिए पनि चाडलाई मध्यनजर गर्दै पछाडि धकेलिएको हो । यसअघि स्थानीय तहको निर्वाचनको घोषणापत्र महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बनेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने कांग्रेसले सार्वजनिक गरेपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
प्रतिक्रिया