काठमाडौं - मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
विवरण अनुसार इन्भेष्टमेन्ट बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ भने मेगा बैंकको घटेको छ । समीक्षा अवधिमा इन्भेष्टमेन्ट बैंकको नाफा २३.४७ प्रतिशत बढेको छ ।
बैंकको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ४.५१ प्रतिशत, कुल सञ्चालन आम्दानी ३१.८७ प्रतिशत र सञ्चालन मुनाफा २३.४७ प्रतिशत बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
त्यसैगरी, मेगा बैंकको खुद नाफा समीक्षा अवधिमा ४४.३३ प्रतिशत घटेको छ । बैंकको खुद ब्याज आम्दानी १८.६० प्रतिशत र कुल सञ्चालन आम्दानी ७।५६ प्रतिशत बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन मुनाफा ४५.९९ प्रतिशत घटेको छ । जसले गर्दा बैंकको खुद नाफा घट्न दबाब पुगेको हो ।
असोज मसान्तसम्ममा मेगाको वितरणयोग्य मुनाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने इन्भेष्टमेन्टको १ अर्ब ८० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा मेगाको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा घटेर ११ रुपैयाँ ६३ पैसामा झरेको छ भने इन्भेष्टमेन्टको २ रुपैयाँ १९ पैसा बढेर २४ रुपैयाँ ९२ पैसा पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मेगाको जगेडा कोष ६.७९ प्रतिशत बढेको छ भने निक्षेप १.१० प्रतिशत र कर्जा २.९९ प्रतिशत बढेको छ । त्यसैगरी, इन्भेष्टमेन्टको जगेडा कोष समीक्षा अवधिमा ५.८६ प्रतिशत, निक्षेप ४.०६ प्रतिशत र कर्जा ७.०७ प्रतिशत बढेको छ ।
प्रतिक्रिया