काठमाडौं - एक आपसमा मर्ज हुने प्रक्रियामा रहेका नेपाल क्रेडिट एण्ड कमर्श ९एनसीसी० बैंक र कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।
विवरण अनुसार कुमारी बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ भने एनसीसी बैंकको थोरै घटेको छ ।
समीक्षा अवधिमा कुमारी बैंकको नाफा ८५.०७ प्रतिशत बढेको छ । बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशत, कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
त्यसैगरी, एनसीसी बैंकको खुद नाफा समीक्षा अवधिमा ०.२४ प्रतिशत घटेको छ । बैंकको खुद ब्याज आम्दानी २०.३१ प्रतिशत र कुल सञ्चालन आम्दानी १३.७१ प्रतिशत बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन मुनाफा ०.२६ प्रतिशत घटेको छ । जसले गर्दा बैंकको खुद नाफामा केही दबाब पुगेको हो ।
नाफा घटेपनि एनसीसी बैंकको वितरण योग्य मुनाफा भने कुमारी बैंकको भन्दा धेरै रहेको छ । असोज मसान्तसम्ममा एनसीसीको यस्तो मुनाफा १ अर्ब ७८ लाख रुपैयाँ रहेको छ भने कुमारीको २६ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा एनसीसीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर १८ रुपैयाँ ५६ पैसामा झरेको छ भने कुमारीको ११ रुपैयाँ ६३ पैसा बढेर २७ रुपैयाँ २३ पैसा पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एनसीसीको जगेडा कोष ९.४० प्रतिशत बढेको छ भने निक्षेप ५.६१ प्रतिशत र कर्जा ६.१९ प्रतिशत घटेको छ ।
त्यसैगरी, कुमारीको जगेडा कोष समीक्षा अवधिमा १५.४४ प्रतिशत र कर्जा २.१४ प्रतिशत बढेको छ भने निक्षेप १.५८ प्रतिशत घटेको छ ।
प्रतिक्रिया