तिहार तथा छठमा मोबाइल बैंकिङ फन्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने

३ बर्ष अगाडि

काठमाडौं - यसपालिको तिहार तथा छठका अवसरमा मोबाइलमा आधारित फन्ड ट्रान्सफरलाई थप प्रवर्द्धन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआईपीएसमार्फत फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । 

यो अफर कात्तिक ७ गतेदेखि कात्तिक १३ गतेसम्म लागू हुनेछ । चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फन्ड ट्रान्सफर गर्न थप प्रोत्साहन गर्नका निम्ति एनसीएचएल तथा बैंक तथा वित्तीय संस्थाको समन्वयमा यो अफर लागू गरिएको हो ।  

फन्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी ‘फन्ड ट्रान्सफर’ वा ‘सेन्ड मनी’मा क्लिक गरी फन्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ । कनेक्टआईपीएसको फन्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फन्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसमा छुट्टै रजिस्टर गर्न आवश्यक छैन । 

हाल मोवाइल बैंकिङमा रहेको कनेक्टआईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार रु. २ लाखसम्मको फन्ड ट्रान्सफर गर्न सकिन्छ । यस निःशुल्क फन्ड ट्रान्सफरको प्रावधानले फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका लागि मोबाइल बैंकिङको बढ्दो प्रयोगलाई थप प्रोत्साहन गर्नुका साथै चाडपर्वको समयमा नगदको प्रयोग पनि घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।  

कनेक्टआईपीएस फन्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएसअन्तर्गतको रिटेल पेमेन्ट स्विचमार्फत सञ्चालनमा रहेको छ । कनेक्टआईपीएसमार्फत चालु आर्थिक वर्षको पहिलो ३ महिनामा रु। ५८२ अर्बबराबरको १ करोड १० लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया