महुली लघुवित्तको नाफा घट्यो, ईपीएस कति ?

३ बर्ष अगाडि

काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५८ लाख २८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा २ करोड ६८ लाख रुपैयाँ थियो । 

यस अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको नाफा ७८।२९ प्रतिशत घटेको हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.४७ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी २।३९ प्रतिशत घटेको छ । इम्पेरमेन्ट चार्जमा २ करोड ९३ लाख रुपैयाँ राखेको यस लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ७८.६८ प्रतिशत घटेको छ ।

लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि उल्लेख्य घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा ३८ रुपैयाँ ३ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २९ रुपैयाँ ७७ पैसा घटेर ८ रुपैयाँ २६ पैसा पुगेको छ । 

सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १२८.४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ६६ पैसा रहेको छ । २८ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष पहिलो तीन महिनामा १.७५ प्रतिशत बढेर ३२ करोड ६३ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, यस तीन महिनामा लघुवित्तको सापटी ३.५२ प्रतिशत बढेको छ भने कर्जा ७।७३ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया