काठमाडौं - वैदेशिक रोजगार विभागले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पाँच वटा श्रम तथा रोजगार कार्यालयलाई निश्चित संख्यामा पूर्व र अन्तिम स्वीकृति प्रदान गर्ने अख्तियारी दिएको छ ।
विभागले श्रम तथा रोजगार कार्यालय धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगरलाई वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा पूर्व तथा अन्तिम स्वीकृति प्रदान गर्ने अधिकार दिने निर्णय भएको जनाएको छ ।
क्षेत्रीय विमानस्थलका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जजिरा एयरले यात्रुको अभावमा उडानमा कटौती गर्ने निर्णय सार्वजनिक गरेपछि विभागले क्षेत्रीयरूपमा श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो ।
उल्लेख्यित पाँच वटा श्रम तथा रोजगार कार्यालयलाई वैदेशिक रोजगारको श्रम स्वीकृति सम्बन्धी कार्य गर्ने अधिकारी यसअघि नै प्रत्यायोजित गरिएको थियो ।
तर, श्रम स्वीकृतिका लागि अनिवार्य मानिएका स्वास्थ्य परीक्षण तथा अभिमुखीकरणसम्बन्धी संस्था नगएपछि कार्यान्वयनको गति भने सुस्त हुँदा भैरहवाबाट वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा वृद्धि हुन सकेको थिएन ।
अहिलेसम्म पनि कतार भिसा सेन्टर काठमाडौंमा मात्रै सीमित छ ।
प्रतिक्रिया