काठमाडौं - डलर बलियो भएसँगै नेपालमा मूल्य वृद्धि पनि हरेक महिना बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ महिनासम्मको देशको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन अनुसार मूल्य वृद्धि ८.६४ विन्दुमा पुगेको छ ।
भारतीय रुपैयाँ कमजोर भएर डलर बलियो हुँदै गएपछि त्यसको असर नेपाली रुपैयाँ पनि अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अहिले १ अमेरिकी डलर साट्दा १३२ रुपैयाँभन्दा बढी खर्च गर्नुपरेको अवस्था छ ।
नेपाल आयातमा आधारित अर्थतन्त्र भएको हुँदा डलर महंगो हुँदै गएपछि नेपालमा भित्रिने सबै सामाग्री पनि महंगो भएर मुद्रास्फितिमा वृद्धि भएको हो ।गत वर्षसम्म १ सय १० रुपैयाँको वरिपरि स्थिर रहेको अमेरिकी डलर रुस युक्रेन युद्धसँगै १ अमेरिकी डलर बराबर विनिमय दर १३२ भन्दा बढी पुगेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७९/८० को लागि आएको बजेटमा मूल्य वृद्धि ७ प्रतिशतमा सिमित गर्ने लक्ष्य राखेको थियो । राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार आवको पहिलो महिना मूल्य वृद्धि ८।२६ प्रतिशत र दोस्रो महिना ८.६४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष भदौ महिनामा मूल्य वृद्धि ३.४९ प्रतिशत मात्रै थियो ।
राष्ट्र बैंकका अनुसार भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ८.१७ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फिति ९.०२ प्रतिशत रहेको छ । क्षेत्रगत रुपमा तराईमा सबैभन्दा बढी ९.३३ प्रतिशत मूल्यवृद्धि रहेको छ भने पहाडमा ८.८२ प्रतिशत र हिमालमा सबैभन्दा कम ६.६८ प्रतिशत मूल्यवृद्धि रहेको छ । काठमाडौंको मूल्यवृद्धि भने ७.६२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया