काठमाडौं - साउन र भदौंमा खास बढ्न नसकेको बैंकहरुको निक्षेप असोजमा भने ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार असोज लागेपछि बाणिज्य बैंकहरुको निक्षेपमा निकै राम्रो सुधार देखिएको हो ।
यो महिनामा मात्रै बैंकहरुको निक्षेप रु. ६२ अर्बले बढेको छ । चालु आर्थिक वर्षको तीन महिनासम्म बैंकहरुले ६९ अर्ब निक्षेप संकलन गरेका थिए । यसमा असोज महिनाको मात्रै योगदान ६२ अर्ब रुपैयाँ रहेको छ ।
एक बैंकरका अनुसार बैंकहरुले ६ महिनासम्म कायम रहेको ब्याजदरको भद्र सहमति भङ्ग गरेपछि निक्षेपको ब्याजदर बढेको थियो । यसले समेत सेयर बजार र अन्यत्र भएको रकम जोखिमरहित रिटर्नका लागि मानिसले बैंकिङ प्रणालीमा भित्र्याएका कारण असोजमा निक्षेप ह्वात्तै बढेको हो ।
एनबीएका अनुसार असोज मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, बैंकहरुले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा कुल ५६ अर्ब कर्जा लगानी गरेका छन् ।
यसमा असोज महिनाको मात्रै योगदान ३० अर्ब रुपैयाँको छ । अब बैंकहरुको कुल ऋण लगानी बढेर ४२ खर्ब २० अर्ब पुगेको छ ।
प्रतिक्रिया