फेरि बिग्रिन थाल्यो आर्थिक अवस्था, घट्यो विदेशी मुद्राको सञ्चिती

३ बर्ष अगाडि

काठमाडौं - नेपालको आर्थिक अवस्था फेरि बिग्रिन थालेको छ । नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्टकार्ड अनुसार विदेशी मुद्राको सञ्चिती घट्न थालेको हो । 

शोधानान्तर घाटा साउनभन्दा भदौमा अझ बढेको छ भने निर्यातको अवस्था पनि निराशाजनक नै छ । २०७९ भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो । 

२०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २।२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा रु.११८९ अर्ब १६ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा २।० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ ।

साउन मसान्तमा भने विदेशी विनिमय सञ्चिती रु.११९७ अर्ब ८५ करोड कायम भएको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ४२ करोड कायम भएको थियो । आर्थिक वर्ष २०७९/८० को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

साउनमा भने आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया