काठमाडौं, चालु आर्थिक वर्षको दोस्रो महिना पौने २ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार भदौसम्ममा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले धेरै हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो।
पछिल्लो समय डलरको भाउ बढ्दा समेत रेमिट्यान्स केहि बढेको हो। तर डलरको भाउ बढ्नुले मात्रै यति धेरै रेमिट्यान्स भने बढेको होइन। अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह ११.३ प्रतिशतले बढेर १ अर्ब ४७ करोड पुगेको राष्ट्र बैंकको तथ्याँकले देखाउछ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले बढेर १ लाख ०३ हजार ८९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले बढेर ३९ हजार १८९ पुगेको छ। यसरी बैदेशिक रोजगारीमा जानेको सँख्या बढ्दा पनि रेमिट्यान्स बढेको हो।
समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले बढेर २ खर्ब ०६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया