बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले १५ प्रतिशत भन्दा बढि सेयर लिन नपाउने

३ बर्ष अगाडि

काठमाडौं - बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले १५ प्रतिशत भन्दा धेरै सेयर लिन नपाउने भएका छन् । सरकारले नयाँ बीमा ऐन मार्फत व्यक्ति वा संस्थाले लिने सेयर हिस्सामा सीमा लगाएको हो ।

बीमा ऐन २०७९ अनुसार एकजना व्यक्ति वा निजको एकाघरको परिवारको सदस्य आधारभूत सेयरधनीले बीमा कम्पनीको चुक्ता पूँजीको १५ प्रतिशतभन्दा बढी शेयर लगानी गर्न सक्दैन । तर नेपाल सरकार, प्रदेश सरकार वा विदेशी लगानीकर्ताले लिएको सेयरको सम्बन्धमा यो व्यवस्था लागू नहुने समेत ऐनमा उल्लेख छ । ऐन लागु हुँदा सीमाभन्दा बढी सेयर स्वामित्व भएको व्यक्ति वा संस्थाले दुई वर्षभित्र सोही सीमामा ल्याइसक्नु पर्छ ।

त्यसैगरी नयाँ बीमा ऐनले एक बीमा कम्पनीको सेयरमा लगानी गर्ने व्यक्ति वा निजको एकाघरको परिवार, फर्म, कम्पनी वा संस्थाले समान किसिमको अर्को कुनै बीमा कम्पनीमा लगानी गर्दा चुक्ता पूँजीको एक प्रतिशत भन्दा बढी हुने लगानी गर्न सक्दैन ।

कुनै बीमकको संस्थापकले बीमा कम्पनी स्थापना गरेको पाँच वर्ष पूरा नभएसम्म संस्थापक सेयर बिक्री गर्न वा धितोबन्धक राख्न वा कुनै प्रकारले हक हस्तान्तरण गर्न पाउने नपाइने व्यवस्था नयाँ ऐनले गरेको छ । 

त्यसैगरी बीमा कम्पनीले हरेक आर्थिक वर्ष समाप्त भएको तीन महिनामा लेखापरीक्षण गरीसक्नु पर्छ । विशेष कारणवस तीन महीनामा लेखापरीक्षण गर्न नसक्ने कम्पनीको अनुरोधमा प्राधिकरणले थप २ महिनाको समय थप गर्न सक्नेछन । यसरी समय थप गर्दा पनि लेखापरीक्षण गर्न नसके एक हप्तासम्म ढिला गरेको खण्डमा पचास हजार रूपैयाँ जरीवाना लाग्ने ऐनमा उल्लेख छ ।

त्यसैगरी एक हप्तादेखि बढी एक महिनासम्मको लागि एक लाख रूपैयाँ, एक महिनादेखि बढी तीन महिनासम्मको लागि पाँच लाख रूपैयाँ र तीन महिनादेखि बढी जतिसुकै अवधिसम्मको लागि दश लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था ऐनले गरेको छ । हाल केही बीमा कम्पनीले वर्षौसम्म पनि लेखापरीक्षण नगराएको अवस्था छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया