त्रिशुली जलविद्युतद्धारा ७७ हजार ७९४ सेयरधनीबाट १६ करोड रुपैयाँ संकलन

३ बर्ष अगाडि

काठमाडौं - त्रिशुली जलविद्युत कम्पनीले विद्यमान ७७ हजार ७९४ सेयरधनीबाट १६ करोड रुपैयाँ संकलन गरेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कार्तिक २ गते बुधबार साँझ ५ बजेसम्म ७७ हजार ७९४ वटा आवेदनबाट १८ लाख ४१ हजार ५०८ कित्ता सेयरका लागि आवेदन परेको हो ।

त्रिशुली जलविद्युतले असोज ४ गतेदेखि आफ्ना सेयरधनीहरुलाई चुक्ता हुन बाँकी ८७ रुपैयाँका दरले रकम संकलन गर्न थालेको थियो ।

त्रिशुलीले २०७५ चैत ७ गतेदेखि जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

सो समयमा कम्पनीले अंकित मूल्यको १० रुपैयाँका दरले मात्र अग्रिम सेयर संकलन गरेको थियो । १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरुबाट कम्पनीले उठाउन बाँकी ९० रुपैयाँमा ३ रुपैयाँका दरले ब्याज प्राप्त भएकाले ८७ रुपैयाँका दरले रकम जम्मा गर्न भनेको हो ।

कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनुपर्नेछ ।

विद्यमान सेयरधनीले आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन सक्नेछन् । 

रकम बुझाउने अन्तिम मिति कात्तिक १७ गतेसम्म तोकिएको छ । कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया