काठमाडौं, काभ्रे जिल्लाको पनौति नगरपालिका २ धाराचौर लाप्सेटारमा प्रथम जिल्लाव्यापी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
भोलिबाट पनौती नगरपालिका वडा नम्बर २ को आयोजनामा हुने सो प्रतियोगिता कुशादेवी मन्दिरबाट धिमेबाजा सहित स्थानीय धाराचौर खेल मैदानमा सम्पन्न हुने आयोजकले जनाएको छ । सो कार्यक्रमको उद्घाटन पनौती नगरपालिका मेयर रामशरण भण्डारीले गर्नेछन् ।
यो प्रतियोगितामा कुशादेवी युवा क्लवको प्रस्ताव अनुसार लब्सेटार युवा समूहले व्यवस्थापकीय भूमिका निभाउने छ ।
प्रतियोगिता सम्पन्न गर्न वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको छ ।
प्रतियोगितामा पनौती नगरपालिका वडा नम्बर १,२ र ३ को तर्फबाट एउटा टिम, नगर स्तरीय अर्को टिम सहभागी हुनेछन् । जिल्लाका १३ वटै पालिकाबाट प्रति पालिका दुई वटासम्म टिम सहभागी हुन पाउने गरी ३ हजार ५ सय शुल्क निर्धारण गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । उप विजेता टिमले ३० हजार प्राप्त गर्नेछ । सान्त्वना दुई टिमलाई नगद १०/१० हजार प्रदान गरिने छ ।
प्रतिक्रिया