काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एकमुष्ठ रुपमा कम्पनीहरुले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ ।
सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो । आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो ।
धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ (ग) को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएरमात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ । त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ ।
नेप्सेमा हिजो आइतबार कार्यालय समयसम्म ३८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस माग गरेका छन् । सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ ।
जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ । पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया