काठमाडौं - सिभिल सहकारी प्रकरण बाहिरिएसँगै ठगीको मुद्धामा कारागारमा रहेका सहकारीका अध्यक्ष इच्छाराज तामाङ दम्पती सहित ३ जनालाई थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले आदेश दिएको छ ।
विशेष अदालतले सम्पती शुद्धीकरण मुद्दामा तामाङ, उनकी श्रीमती सिर्जना तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । अदालतमा हाजिर भएका उनीहरुलाई थुनामा राख्न थुन्छेक आदेश दिएको हो ।
सहकारी प्रकरणमा थुनामा नै रहेका बेला सहकारीका सञ्चालक इच्छाराज तामाङसँगै उनको परिवारले साढे ४ अर्ब रुपैयाँ ठगी गरेको भन्दै विशेष अदालतमा गत भदौ तेस्रो साता मुद्धा दर्ता भएको थियो ।
तामाङकी श्रीमतीसँगै दुई छोरीहरु पनि ठगीमा संलग्न भएको आरोप सहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानूनी सम्पत्ति तथा ठगी सम्बन्धमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विभागले तामाङ विरुद्द ३ अर्ब ३१ करोड, श्रीमती सिर्जना शाक्य विरुद्द १ अर्ब ३ करोड र छोरीहरु प्रतिक्षा र प्रतिशाविरुद्ध क्रमशः ६ करोड ६६ लाख र १ करोड ८९ लाख रुपैयाँ सम्पत्ति गैरकानूनी ढंगले आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।
सिभिल सहकारीका बचतकर्ताको अर्बौ रुपैयाँ हिनामिना गरेको खुलासा भएसँगै तामाङ अनुसन्धानको घेरामा तानिएका थिए । केन्द्रीय अनुसन्धान विभागले गरेको अनुसन्धानले सहकारीका निक्षेपकर्ताको ५ अर्ब ५७ करोड रुपैयाँ ठगी गरेको देखिएपछि तामाङ गत वर्षको असोज अन्तिम साता पक्राउ परेका थिए ।
१ हजार ५०० भन्दा बढी बचतकर्ताले आफ्नो निक्षेप फिर्ता गरिदिन ताकेता गर्दा तामाङले विभिन्न किसिमका बहाना बनाउँदै झुक्याउने गरेका थिए । यो प्रकृया ३ वर्षभन्दा लामो समयसम्म चलेपछि बचतकर्ताले आफ्नो रकम फसेको खुलासा गर्दै तामाङका बिरुद्ध कानुनी उपचारमा गएका थिए ।
प्रतिक्रिया