एजेन्सी - जापानको मुद्रा अमेरिकी डलरको तुलनामा ३२ वर्षयताकै कमजोर हालतमा पुगेको छ ।
अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्रगतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा सार्वजनिक भएपछि जापानिज येन न्यून विन्दुमा पुगेको थियो । प्रतिअमेरिकी डलर १४७.६६ येन पुगेको थियो र पछि त्यो अलिकति माथि उक्लियो ।
जापानका अर्थमन्त्री शुनिची सुजुकीले मुद्रा अस्थिर बनेको विषयलाई सम्बोधन गर्न उचित कदम चालिने बताएका छन् । एउटा दुर्लभ प्रकृतिको कारबाही गर्दै गत महिना जापानले आफ्नो कमजोर बन्दै गएको मुद्रालाई उकास्न २० अर्ब डलर खर्च गरेको थियो ।
गत महिना जापानले येनलाई उकास्न विश्व मुद्रा बजारमा हस्तक्षेप गरेको थियो । २४ वर्षयताकै सबभन्दा कमजोर विन्दुमा येन पुगेपछि जापान सरकारले उक्त कदम चालेको थियो ।
त्योभन्दा अगाडि जापान सरकारले सन् १९९८ मा मात्र मुद्रा बजारमा त्यसरी हस्तक्षेप गरेको थियो । तर, विश्लेषकहरुले चाहिँ अमेरिकाको तुलनामा जापानमा निकै कम ब्याज दर रहेसम्म यस्ता हस्तक्षेपको खासै कुनै प्रभाव नहुने बताएका छन् ।
पछिल्ला महिनाहरुमा जापानी येनमाथि लगातार चाप बढिरहेको छ । दुई देशका केन्द्रीय ब्याङ्कहरुले अपनाएका भिन्न नीति नै त्यसको मुख्य कारण भएको बताइएको छ ।
प्रतिक्रिया