कोशी अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

३ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले शुक्रबार विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मेसिनहरु हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले ती मेसिन कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। लक्ष्मीनारायण यादवलाई हस्तान्तरण गरेका हुन् । 

कोशी अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा भीम घिमिरे, सुरेश शर्मा, जगदिश प्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतानलगायतका वरिष्ठ उद्योगपति एवं समाजसेवीहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, प्रदेश प्रमुख कमल बस्नेतलगायत अन्य प्रतिनिधिहरु तथा अस्पतालका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

ती हेमोडायलाइसिस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने बिरामीहरुको उपचारका लागि प्रयोग गर्नेछ । बैंकले पुर्याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरुलाई डायलाइसिस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । 

कार्यक्रममा कोशी अस्पतालका मेसु डा यादवले हेमोडायलाइसिस मेसिनको उपयोगिता, प्रयोग र आवश्यकताबारेमा चर्चा गरेका थिए । उनले बैंकद्वारा हस्तान्तरण गरिएका डायलाइसिस मेसिनहरुको अधिकतम उपयोग गरिने प्रतिबद्धतासमेत व्यक्त गरे । 

बैंकले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको बारेमा बैंक सञ्चालक नरेन्द्रकुमार अग्रवालले जानकारी गराएका थिए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेकोसमेत बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया