दशैं पछिको पहिलो साता नेप्से परिसूचक कतिले बढ्यो ?

३ बर्ष अगाडि

काठमाडौं - दशैं पछिको पहिलो साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ । दशैं अघिको साता १८५३.७६ विन्दुमा बन्द भएको नेप्से, यस साता १६.८७ अंक बढेर १८७०.६३ विन्दुमा बन्द भएको छ ।

साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार उकालो लागेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो । यस साताको पहिलो कारोबार दिन र अन्तिम दुई कारोबार दिन नेप्से उकालो लागेको थियो ।

यस साता सेन्सेटिभ इण्डेक्स ३.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४२ अंक बढेको छ । यस साता नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । 

दैशैंअघिको साता दैनिक औषतमा ७१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७८ करोडको शेयर कारोबार भएको छ । यस साताको कारोबार रकम अघिल्लो साताको तुलनामा ८.८६ प्रतिशत बढेको हो । त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ५.४९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ६.९४ प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत बढेको छ । दशैं अघि २६ खर्ब ६४ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता २४ अर्ब रुपैयाँ बढेर २६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

यस साता १३ उपसमूहमध्ये १ उपसमूहको मात्र शेयरमूल्य घटेको छ भने १२ उपसमूहको परिसूचक उकालो लागेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.९६ प्रतिशत बढेको छ । 

त्यसैगरी, यस साता विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यस साता व्यापार उपसमूहको परिसूचक ०.२६ प्रतिशत घटेको छ । 

अंकका आधारमा यस साता उत्पादन तथा प्रशोधनको परिसूचक सर्वाधिक १५६.२४ अंक बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया