इस्टर्न हाइड्रोको आईपीओमा पहिलो दिनमै साढे २ गुणा बढीले ओभरसब्सक्राइब्ड, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासउनको पहिलो दिन नै साढे २ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ । 

कम्पनीले शुक्रबार असोज २८ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको छ । जसमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता पनि समावेश गरिएको छ । 

कुल कित्तामध्ये ५ प्रतिशतले हुने आउने ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन् । 

सीडीएससीको तथ्यांकअनुसार आज दिउँसोसम्म यो आईपीओमा १ लाख ३५ हजार ४२९ आवेदकबाट कुल १५ लाख ८० हजार ४१० कित्ता सेयर खरिद आवेदन परेको छ । जुन माग २.५३ गुणा बढी हो । 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा भाग्यमानी ६२ हजार ३३८ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् । तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन् । 

यो आईपीओको निष्कासन बन्द कात्तिक १ गते बैंकिङ समयपछि हुनेछ । आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया