नयाँ ब्रोकर लाइसेन्स : निवेदन दिने कम्पनीहरुको संख्या ३२ पुग्यो

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन निवेदन दर्ता गराएका छन् । नेप्सेका अनुसार आज दिउँसो १ बजेसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दर्ता गरेका छन् । 

सेबोनले नयाँ ब्रोकर लाइसेन्सका लागि गत असोज २ गते ३० दिनको समयदेखि आवेदन खुला गरेको छ । आवेदन दिने म्याद असोज मसान्तमा सकिनेछ । अहिलेसम्म सेबोनमा हिमालयन ब्रोकरेजले मात्रै नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिएको छ । 

धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ ९ग० को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएरमात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ मा भनिएको छ । त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ ।

सेबोनले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया अघि बढाएसँगै नेप्सेले नयाँ ब्रोकर लाइसेन्सको सिफारिस नदिने मनसाय बनाएको थियो । तर, अर्थमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनपछि नेप्सेले सिफारिस दिने निर्णय गरेको थियो । 

सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ । जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ । 

पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया