एजेन्सी - अमेरिकामा महँगी ४० वर्षयताकै उच्च स्तरमा पुगेको छ । महँगी नियन्त्रण गर्न अमेरिको केन्द्रीय बैंक फेडरल रिजर्भका सबै प्रयास असफल हुने देखिन्छ ।
गत सेप्टेम्बर महिनामा मुद्रास्फीति दर फेरि एकपटक बाइडेन सरकार र केन्द्रीय बैंकको अनुमानभन्दा बढी पुगेको छ । अमेरिकाको सरकारी तथ्यांकका अनुसार उपभोक्ता मूल्यमा तीव्र वृद्धि भएको छ र ४० वर्षको रेकर्ड उच्चमा पुगेको छ। जसका कारण घरायसी तथा अत्यावश्यक वस्तुको भाउ बढेको छ भने जनताको खर्च पनि बढेको छ ।
मुद्रास्फीतिको तथ्यांक हेर्दा अमेरिकी फेडरल रिजर्भले आगामी दिनमा ब्याजदर बढाउन सक्ने अनुमान गरिएको छ । अमेरिकी श्रम विभागले जारी गरेको तथ्यांकअनुसार कोर उपभोक्ता मूल्य सूचकांक (सीपीआई) एक वर्षअघिको तुलनामा ६.६ प्रतिशतले बढेको छ । यो सन् १९८२ यताकै उच्च स्तर हो ।
कोर सीपीआई अगस्टको तुलनामा सेप्टेम्बरमा ०.४ प्रतिशतले बढेको थियो र अहिले मुद्रास्फीति दर ८.२ प्रतिशत पुगेको छ । अगस्टमा यो संख्या ७.८ प्रतिशत थियो । कोर सीपीआईमा खाना र ऊर्जा समावेश छैन ।
सेप्टेम्बरमा सवारी बीमा र घरायसी सामान महँगो भएको छ । अर्कोतर्फ प्रयोग भएका गाडी र कपडाको मूल्य भने घटेको छ । अमेरिकामा घरपालुवा जनावरको हेरचाहदेखि डेन्टल भिजिटजस्ता सेवाहरु महँगो हुँदै गइरहेका छन् ।
सेप्टेम्बरमा फेडरल रिजर्भले लगातार तेस्रोपटक ब्याज दर ०.७५ प्रतिशतले बढाएको थियोे । कोर मुद्रास्फीति उच्च स्तरमा पुगेपछि संघीय बैंकले गरेको पहिलो ब्याजदर वृद्धिले खासै असर नपर्ने संकेत देखिएको छ ।
अमेरिकी फेडरल रिजर्भले २ प्रतिशतसम्म मुद्रास्फीतिको लक्ष्य राखेको छ ।
प्रतिक्रिया