नयाँ ब्रोकरको लाइसेन्स लिने कम्पनीको संख्या २१ पुग्यो, २० करोड चुक्ता पुँजीको लिने धेरै

३ बर्ष अगाडि

काठमाडौं - २० करोड चुक्ता पुँजीको ब्रोकर कम्पनीमा २१ आवेदन परेको छ । बुधबार सम्ममा नयाँ स्टक ब्रोकर लिन चाहनेको संख्या २१ पुगेको नेपाल स्टक एक्चेन्ज (नेप्से) ले जनाएको छ । 

नयाँ ब्रोकर लाइसेन्स लिनको लागि नेप्सेको सिफारिस आवश्यक हुन्छ । सोही सिफारिसको लागि २१ कम्पनीले नेप्सेमा निवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक ब्रोकरको न्यूनतम चुक्ता पुँजी कामको प्रकृति हेरेर २० करोडदेखि १५० करोड रुपैयाँसम्म तोकिएको छ । 

बोर्डका अनुसार सामान्य शेयर कारोबार गर्ने स्टक ब्रोकर कम्पनी खोल्न २० करोड रुपैयाँ चाहिने भएको छ भने मार्जिन लेन्डिङ, एडभाइजरी सेवा समेत दिने ब्रोकर कम्पनी खोल्न ६० करोड रुपैयाँ र आफ्नै नाममा शेयर खरिद बिक्री गर्न मिल्ने एवम् स्टक डिलरको समेत कार्य गर्न सक्ने गरी ब्रोकर कम्पनी खोल्न भने १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी चाहिने व्यवस्था गरेको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ लाई पाँचौ पटक संशोधन गरे लगत्तै नयाँ ब्रोकरको लागि लाइसेन्स खुला गरेको थियो । नयाँ स्टक ब्रोकर लिनका लागि असोज ३१ गतेभित्र निवेदन दिइ सक्नु पर्ने छ ।

पछिल्लो समय नेपालको बैकिङ प्रणालीमा तरलताको अभाव भएको बेला बोर्डले हतारमा नयाँ स्टक ब्रोकरसँगै एउटा नयाँ स्टक एक्सचेन्ज र दुई वटा कमोडिटिज एक्सचेन्ज खोल्नको लागि बोर्डले निवेदन माग गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया