काठमाडौं - एनएमबी क्यापिटलले साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को साधारण सभा कार्तिक १८ गते शुक्रबार बोलाएको हो ।
सभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई २१.०५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव सभामा पेश गर्दैछ ।
त्यस्तै कम्पनीको हाल कायम चुक्ता पूँजी रु। २० करोडको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।
सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया