काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख राजनीतिक दलहरूबाट आधा दर्जन पुराना अर्थमन्त्री प्रतिस्पर्धामा उत्रेका छन् ।
जनार्दन शर्मा
बहालवाला अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवार बनेका छन् । नेकपा माओवादीको तर्फबाट शेरबहादुर नेतृत्वको कांग्रेस, माओवादी र समाजवादी गठबन्धनमा अर्थमन्त्री रहेका उनी यसअघि प्रचन्ड प्रधानमन्त्री हुँदा उर्जामन्त्री बनेका थिए । उनको प्रतिस्पर्धा एमालेका नन्दराम देवकोटासँग हुने भएको छ ।
विष्णु पौडेल
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्री रहेका विष्णु पौडेलले रुपन्देही २ बाट उम्मेदवारी दिएका छन् । ओली नै प्रधानमन्त्री हुँदा अर्थमन्त्री रहेका डा। युवराज खतिवडाको समयमा नेप्सेले गति लिन सकेन भने उनी अर्थमन्त्रीमा नियुक्ति हुनासाथै शेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो ।
नेप्सेले अहिलेसम्म ३१९८ विन्दुसम्म छोएको छ । विष्णु पौडेलले नै अर्थमन्त्री हुँदा नेप्सेको अघिल्लो उच्च विन्दु १८८० छोएको थियो । उनी अर्थमन्त्री हुँदा नै दुइपटक नेप्सेले उच्च विन्दु हासिल गरेकाले शेयर बजार मैत्री अर्थमन्त्रीको रुपमा उनी शेयर लगानीकर्ता माझ परिचित छन् ।
पौडेलको प्रतिस्पर्धा एमालेबाटै फुटेर बनेको नेकपा समाजवादीका प्रत्यासीसँग हुनेछ । सत्ता गठबन्धनको तर्फबाट रुपेन्देही २ मा नेकपा समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका छन् । चेक बाउन्सका कारण गुरुङ संलग्न कम्पनी कालोसूचीमा रहेकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको छ ।
वर्षमान पुन
प्रचण्ड प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेको वर्षमान पुन यसपटक पनि माओवादीको जनाधार बलियो भएको रोल्पाबाट चुनावी मैदानमा होमिएका छन् । उनको प्रतिस्पर्धा नेकपा एमालेका पूर्णबहादुर बुढा मगरसँग हुनेछ ।
सुरेन्द्र पाण्डे
नेकपा एमालेमा सरकारमा सहभागी रहँदा अर्थमन्त्री रहेका सुरेन्द्र पाण्डे यसपटक पनि चितवन १ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । उनको प्रतिस्पर्धीमा नेपाली कांग्रेसको तर्फबाट अर्थशास्त्री विश्व पौडेलले प्रतिस्पर्धा गर्दैछन् ।
पौडेलले चुनावमा प्रतिस्पर्धा गर्नकै लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् । चितवन १ मा शेयर लगानीकर्ता हरि ढकालले पनि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।
ज्ञानेन्द्रबहादुर कार्की
पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी ४ बाट चुनाव लड्दैछन् । कार्की हालको देउवा क्याविनेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री छन् । उनले नेकपा एमालेका जगदीश कुसियतसँग प्रतिस्पर्धा गर्दैछन् ।
प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणा
पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष रहिसकेका डा। प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणालाई उक्त पार्टीले समानुपातिक समूहको सूचीमा समावेश गरेको छ ।
दुवै राप्रपाको तर्फबाट विभिन्न समयमा अर्थमन्त्री रुपमा समेत कार्यभार सम्हालिसकेका छन् । दुवैले आफू वरिष्ठ दाबी गर्दा गोलाप्रथाबाट राणालाई समानुपातिक समूहको पहिलो र लोहनीलाई दोस्रो नम्बरमा राप्रपाले उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया