वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरिएको छ : प्रधानमन्त्री देउवा

३ बर्ष अगाडि

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । मंगलबार गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले हरेक गैर आवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भुमिका खेल्नुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रर्वद्धनमा सहयोग पुर्याउन आवश्यक रहेको पनि बताए । प्रधानमन्त्री देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले गैर आवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पुँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरुले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्राउनसमेत अग्रसरता लिन आवश्यक रहेको औंल्याए । उनले गैर आवासीय संघको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको बताए ।

उनले धितोपत्रको दोस्रो चरणमा गैर आवासीय नेपालीहरुलाई खुला गर्न कानूनी व्यवस्था मिलाइने कुरा समेटिएको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरिएको बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया