काठमाडौं - निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल इन्भेष्टमेण्ट बैंकबीच आज लघुवित्त तथा विपन्नवर्ग कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नेपाल इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा कोषका नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेललगायत विभागीय प्रमुखहरु र नेपाल इन्भेष्टमेण्ट बैंकका अधिकारीहरुको उपस्थिति थियो ।
यस सम्झौतापत्रमा हस्ताक्षर भएसँगै नेपाल इन्भेष्टमेण्ट बैंकले कृषि व्यवसायका लागि प्रवाह गरेको ३ करोड रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । ३ करोडसम्मको त्यस्तो कर्जामध्ये १ करोडभन्दा माथिको कर्जाको हकमा भने बैंकले कोषको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ ।
यसका साथै बैंकले लघु वित्त तथा विपन्नवर्ग कर्जाअन्तर्गत बिनाधितो सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति १० लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति ७ लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति २० लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति १० लाखसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।
प्रतिक्रिया