काठमाडौं - वैदेशिक रोजगारमा जाने विपन्न अवस्थाका नेपाली कामदारका लागि ल्याइएको फ्रि–भिसा, फ्रि–टिकटको निर्णय कामदारका लागि भन्दा राजनीतिक दल र नेताका लागि निर्वाचनमा मत तान्ने आकर्षक नारा बन्ने भएको छ ।
नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्व. सुशील कोइरालाको कार्यकालमा २०७२ सालमा श्रम मन्त्रालयले खाडीका ६ मुलुक र मलेसिया जाने कामदारका हकमा फ्रि–भिसा फ्रि–टिकटको निर्णय गरेको थियोे । अधिकांश वैदेशिक रोजगार व्यवसायीले हचुवाका भरमा ल्याइएको भन्दै उक्त निर्णय परिवर्तनको माग गरिरहेका छन् ।
पछिल्लोपटक भने मलेसियाबाट नेपाली कामदारका लागि उल्लेख्य मात्रामा फ्रि–भिसा फ्रि–टिकटको डिमाण्ड आई नेपाली कामदार पूर्णतः निशुल्क रूपमा आकर्षक तलब सुविधाको रोजगारीमा गइरहेका छन् ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गराउन डडेलधुरा पुगेकी डा. आरजु राणा देउवाले पार्टीका उम्मेदवार जिताए युवाहरूलाई फ्रि–भिसा, फ्रि–टिकटमा वैदेशिक रोजगारीको प्रबन्ध मिलाउने उद्घोष गरिन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा कैलालीमा पनि डा. राणाले आफ्नो पार्टीका उम्मेद्वारलाई चुनाव जिताए फ्रि–भिसा फ्रि–टिकटमा विदेश पठाउने बताएकी थिइन् ।
त्यतिबेला नेपाली कांग्रेस (बीपी)ले मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै राणाविरुद्ध उजुरी दिएपछि निर्वाचन आयोगले राणालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
प्रतिक्रिया