काठमाडौं - नेपाल राष्ट्र बैंकले यही असोज २५ गते १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल गर्ने भएको हो ।
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिनका लागि ३ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः कात्तिक २२ गते, पुस २६ गते, चैत २८ गते र २०८० असोज २३ गते परिपक्व हुनेछन् ।
यी ट्रेजरी बिलको आज सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
प्रतिक्रिया