काठमाडौं - आज दशैं पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक साढे ४४ अंक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४४.६२ अंक बढेर १८९८.३८ विन्दुमा पुगेको छ ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३७ अंक र सेन्सेटिभ इण्डेक्स ३.२२ अंक बढेको छ । आज २२४ स्टकको १४ हजार ९९१ पटकको कारोबारमा ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.९५ प्रतिशत बढेको छ । त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.८४ प्रतिशत बढेको छ ।
कारोबारमा आएको गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । आज मूल्य घटेका शीर्ष १० स्टकमध्ये अधिकांश म्युचुअल फण्ड रहेका छन् ।
कारोबार रकमका आधारमा आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको २२ करोड ६९ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । त्यस्तै, नबिल बैंकको साढे ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको २ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
आइतबार १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक ४.५० प्रतिशत बढेको छ भने जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
प्रतिक्रिया