काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले गोरखा–२ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयको स्वागत गरेका छन् ।
उनले गोरखा–२ मा प्रचण्डको उम्मेदवारीको ठूलो सांकेतिक महत्व रहेको उल्लेख गर्दै जितको शुभकामनासमेत दिएका छन् । ‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क। पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयदेखि स्वागत गर्दछु । वर्तमान नेपाल राज्यको उद्गम थलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्वको छ । उहाँको शानदार विजयको हार्दिक शुभकामना,’ बाबुरामले ट्विट गरेका छन् ।
विगत निर्वाचनमा गोरखा–२ बाट बाबुरामले निर्वाचन जित्दै आएका थिए । तर, ४ मंसिरको निर्वाचनमा भने उनले उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा प्रचण्डले चितवन–३ छाडेर गोरखा–२ रोजेका हुन् ।
प्रतिक्रिया