हनुमन्ते सफाइ अभियान ५१ औँ हप्तामा, प्रचण्ड र प्रकाशमान सहभागी हुने

७ बर्ष अगाडि


काठमाडौं – ‘उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न लागौं’ भन्ने मूल नारासहित सुरु भएको हनुमन्ते नदी सफाई अभियान यही फागुन ४ गते ५१ औ हप्तामा प्रवेश गरेको छ । 

बुधबार हनुमन्ते नदी सफाई ५१ औ हप्ता मूल समारोह समितिले गरेको पत्रकार सम्मेलन गरेर देशकै नमूना बनेको भक्तपुरको हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यता र नेपाली कांग्रेसका नेता एवम्  पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको विशिष्ट आतिथ्यतामा यही फागुन ४ गते भव्यरुपमा मनाइने जानकारी गराएको हो । 

भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर र जाममुक्त भक्तपुर’ बनाउने लक्ष्यका साथ उनकै पहलमा सूर्यविनायक नगरपालिकाको संयोजकत्वमा शुरु भएको उक्त सफाइ अभियानले ५०औँ हप्ता पार गर्दा राज्यको विनालगानी देशकै नमूना सफाइ अभियानको रूपमा परिचित बन्न सफल भएको छ । 

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले सफाई अभियान झण्डै एक वर्षको यो अवधिमा आफूहरुले हनुमन्ते नदी सफाईको धेरै काम गरेको जनाए । उनले भने,‘हामीले अहिलेसम्म ७२ टन फोहोर उठायौं ।’ बस्नेतले विकासप्रतिको दृष्टिकोण नै परिवर्तन गर्न आवश्यक रहेको सुझाए । उनले भने,‘हामीले अब सरसफाई, सभ्यता, शिक्षाजस्ता विषयमा देशभरि अभियान नै चलाउनुपर्छ ।’

उनले राज्यको बिना लगानी यो अभियानलाई आज ५१ औं हप्तासम्म पुर्याउन सफल भएको पनि दाबी गरे । उनले भने,‘हामी डिजास्टरको अन्त्य र डेभलपमेन्टको सुरुवात गर्छौं ।’ त्यस्तै उनले आफूहरुले यो ५१ औं हप्ता भव्य रुपमा मनाउनुको अर्को कारण अहिले धमाधम निर्माण भएको हनुमन्ते कोरिडोरको कार्यप्रगति देखाउनुपनि रहेको सुनाए ।
 
बस्नेतले कोरिडोरको शिल्यान्यास गरेको दुई महिनाभित्रै बिना विवाद काम द्रुत गतिमा भैरहेको जनाए । उनले विकास निर्माणमा सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘त्यही भएर हामीले पर्सीको ५१ औं हप्ताको कार्यक्रममा प्रचण्ड र प्रकाशमानज्यूलाई बोलाएका हौं ।’

बस्नेतले आफुहरुले सुरु गरेको अरनीको राजमार्ग सफाई अभियान पनि अहिले छोटो समयमै फलदायी भएको पनि विश्वास दिलाए । उनले भने,‘पछिल्लो यो दुई महिनाको अवधिलाई हेर्ने हो भने पनि दुर्घट्ना कम भएको छ। कोटेश्वरको जाम पनि कम भएको छ ।’

उनले आफूहरुले यो अभियानलाई देशकै अनुकरणीय अभियान बनाउन खोजेको स्पष्ट पारे । ५१ औं हप्ते कार्यक्रमको पूर्व सन्ध्यामा पर्सी शुक्रबार भक्तपुरमा घुम्ती शिविरको आयोजना गरिएको पनि उनले जानकारी दिए । 

१०० हप्ताको हनुमन्ते सफाइ अभियानले वाग्मतीको सहायक नदीको रुपमा बग्ने हनुमन्ते नदी सफाइ अभियानले अरनिको राजमार्गदेखि नगरपालिकाका वडावडामा समेत सफाइ अभियान सञ्चालन गर्न सफल भएको बस्नेतले विश्वास दिलाए ।

७ बर्ष अगाडि

प्रतिक्रिया