सान्जेन जलविद्युतको आईपीओमा माग भन्दा बढी आवेदन

३ बर्ष अगाडि

काठमाडौं - सान्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेको छ । रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा दशैं अघिनै माग भन्दा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार अपरान्ह १ः३३ बजेसम्ममा १८ हजार ७७८ आवेदनबाट ३८ करोड ११ लाख ६८ हजार रुपैयाँ बराबरको ३८ लाख ११ हजार ६८० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ३६ लाख ५० हजार कित्ता शेयरको १.०४ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । सो शेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बाँडफाँट गरिने जनाएको छ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया