काठमाडौं - बैंकिङ प्रणालीमा लगानीयोग्य रकम ९तरलता० अभाव हुँदा रिपोको मागसँगै ब्याजदर समेत बढेको छ । तरलता अभावकै कारण बैंकहरुले राष्ट्र बैंकबाट उपयोग गर्दै आएको स्थायी तरलता सुविधा (एसएलएफ) को माग भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले लगानी योग्य रकमको अभाव खेपिरहेका बैंक तथा वित्तीय संस्थालाई बिहीबार ३० अर्ब रुपैयाँ रिपो प्रवाह गर्न खोज्दा बैंक तथा वित्तीय संस्थाले ८० अर्ब १७ रुपैयाँ माग गरेका छन् ।
उक्त रिपोका लागि २९ वटा संस्थाले ६७ आवेदन मार्फत ८० अर्ब १७ करोड रुपैयाँ माग गरेका हुन । राष्ट्र बैंकले १४ दिने अवधिको लागि ३० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । बैंकहरुले ब्याजदर समेत बढाएर रिपो माग गरेका हुन् ।
राष्ट्र बैंकका अनुसार बैंकहरुले अधिकतम ९ प्रतिशत तथा न्यूनतम ८.५० प्रतिशत ब्याजदर माग गरेका थिए । जसको औषत ब्याजदर ८.५३५८ कायम भएको छ । जुन अघिल्लो पटकको भन्दा धेरै हो । यस अधि केन्द्रीय बैंकले गत भदौ ३० गते ७ दिने अवधिका लागि २० अर्बको रिपो जारी गरेकोमा बैंकहरुले औषत ८.३४ ब्याजदर कबुलेका थिए । सो समयमा पनि ३३ अर्बको माग परेको थियो ।
चालु आर्थिक वर्ष सुरु भएपछि केन्द्रीय बैंकले चार पटक गरेर एक खर्ब रुपैयाँ रिपो जारी गरेकोमा २ खर्ब ३ अर्ब १७ करोड बराबरको माग आएको छ । पछिल्लो चार पटकको रिपोको ब्याजदर क्रमश बढ्दै गएको छ । पहिलो पटक रिपो जारी गर्दा ८.३८१६ प्रतिशत औषत ब्याजदर कायम भएकोमा चौथो पटसम्म आइपुग्दा बढेर ८.५३५८ कायम भएको छ ।
प्रतिक्रिया