पिपुल्स हाइड्रोको ३२ लाख कित्ता आईपीओमा आवेदन दिने समय थप, कहिलेसम्म ?

३ बर्ष अगाडि

काठमाडौं - पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । 

कम्पनीले गत भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो । यो आईपीओको निष्कासन बन्द छिटोमा आज असोज १४ गते बैंकिङ समयपछि हुने भनिएको थियो । 

तर, मागबमोजिम आवेदन नपरेकोले अब असोज ३० गतेसम्म आईपीओ बिक्री खुला गरिने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्पनीले स्थानीयका लागि जारी पुँजीको १० प्रतिशतले हुन आउने ३ अर्ब २० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले १०० अंकित दरका कुल ३२ लाख कित्ता आईपीओ बिक्री खुला गरेको छ। जसमा आयोजना प्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिकाका वडा नं। ६ र ७ का बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ । 

बाँकी ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्तामा लमजुङ जिल्लाभर बासिन्दाहरुले खरिद आवेदन दिन सक्नेछन् । यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । 

स्थानीयले ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट तथा एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीसहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया