काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) का लागि आवश्यक पूर्वाधारलगायत अन्य आवश्यक व्यवस्था गर्नका लागि ३३ वटा ब्रोकरलाई पत्राचार गरेको छ ।
नेप्सेले काटेको पत्रमा धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियामवाली, २०७९ बमोजिम कारोबार व्यवस्थापन प्रणाली स्थापनाका लागि पूर्वाधारलगायत अन्य आवश्यक व्यवस्था गरी ३० दिनभित्र नेप्सेमा जानकारी गराउन भनिएको छ ।
नेप्सेको सञ्चालक समितिले सेयर कारोबार विनियमावली, २०७५ स्वीकृत गरी २०७९ असार ५ गतेबाट कार्यविधि बनाएर लागू गरेको थियो । सोही कार्यविधिअनुरुप नै अहिले सञ्चालनमा रहेका ब्रोकरहरुले आफ्नै टीएमएस सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाएका थिए ।
विनियमावलीमा भएको व्यवस्थाअनुरुप नै ब्रोकरहरुले स्थानीय प्रतिनिधि छनौट गरी नेप्सेमा आफ्नै टीएमएस सञ्चालनका लागि गत साउनमै आवेदन दिएका थिए । अहिले सञ्चालनमा भएका ५० ब्रोकरमध्ये ३३ वटा ब्रोकरले स्थानीय प्रतिनिधि ‘डिजीहब’मार्फत टीएमएस ल्याउने प्रक्रिया अघि बढाएका छन् ।
डिजीहबमार्फत ३३ वटा ब्रोकरको श्रीलंकाको कम्पनी आइरन वान टेक्नोलोजी प्रालिले विकास गरेको टीएमएस ल्याउन तयारी रहेको छ । ब्रोकरहरुले हाल कोलम्बो स्टक एक्सचेन्जका ब्रोकरहरुले चलाइरहेको आइरन वान टेक्नोलोजी प्रालिले बनाएको ‘एट्राड’ नामक टीएमएस ल्याउन खोजेका छन् ।
प्रतिक्रिया