काठमाडौं - नबिल बैंकले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका–२ रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्त रुपमा एकैसाथ शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोजकुमार थापालाई बिएलबि मेसिन र प्रमाणपत्र हस्तान्तरण गरेर शाखारहित बैंकिङ सेवाको सुरुआत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भण्डारीले शाखारहित बैंकिङ सेवाका लागि धन्यवाद ज्ञापन गर्दै कुनै पनि क्षेत्रको विकासका लागि वित्तीय पहुँच मुख्य आधारशिला भएको र यसका लागि गाँउपालिका बैंकसँग हरदम हातेमालो गर्ने बताए ।
कार्यक्रममा नबिल बैंक वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले नबिल बैंकले बराहताल गाउँपालिकामा बैंकको पहिलो शाखारहित बैंकिङ सेवा सुरुआत गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताए । नबिल बैंक देशको हरेक ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउन हरदम तत्पर रहेको जानकारी दिए ।
नबिल बैंकको शाखारहित बैंकिङ सेवामार्फत खाता खोल्न अनुरोध गर्न, खातामा नगद जम्मा तथा भुक्तानी गर्न, रकमान्तर गर्न, ग्राहकको खातामा रहेको रकमको सोधपुछका साथै कारोबारको संक्षिप्त विवरण हेर्न, विप्रेषण भुक्तानी गर्न, कर्जा रकम भुक्तानी गर्न तथा किस्ता रकम जम्मा गर्न साथै विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिनेछ ।
नबिल बैंकले दिगो बैंकिङ कार्यक्रमअन्तर्गत देशका विभिन्न ठाउँहरुमा वित्तीय पहुँच पुर्याउने र डिजिटाइजेसनलाई बढावा दिने उद्देश्यले शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको हो ।
यसका साथै नबिल बैंकले वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा भएको कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरतामा केन्द्रित रहेको थियो ।
नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरुआत गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ ।
प्रतिक्रिया